बाँके - काठमाण्डौमा हालै सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा उपविजेता बनेका नेपालगन्जका सलिम कुरेसी (रिहान मलिक) लाई जनता समाजवादी पार्टी बाँकेले नगद रासी सहित खादा र माला लगाएर सम्मान गरेको छ । पार्टी कार्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै उपबिजेता बनेका कुरेसीलाई केन्द्रीय नेतृत्वसहितको टिमले सम्मान तथा बधाई ज्ञापन गरेको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका महासचिव एवं पुर्व मन्त्री मोहम्मद इस्तियाक राईले प्रतियोगितामार्फत बाँके जिल्ला र नेपालगन्जको गरिमा बढाएको हुँदा कुरेसी बधाई तथा प्रशंसा गरेका थिए ।
पार्टीले यस्तो खालको शारीरिक सुगठन प्रतियोगिताका लागि पहल गर्ने र स्थानीय सरकारले पनि यस क्षेत्रमा लाग्ने खेलाडी तथा खेलका लागि अग्रसर हुने उनले बताएका छन् । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य आदेश अग्रवालले उपविजेता बन्न सफल भएकोमा बधाई दिएका थिए ।
नेपालगन्जमा रहेको माई फिटनेस जिमका कुरेसी काठमाण्डौंमा हालै सम्पन्न भएको राष्ट्रिय पाँचौं खुला मिस्टर काठमाण्डौं शारीरिक सुगठन प्रतियोगितामा ओभर अल ओपन वेटमा उपविजेता बन्न सफल भएका थिए । सो प्रतियोगितामा २०८ जना खेलाडी सहभागि भएका थिए ।
पार्टी बाँकेका अध्यक्ष दुर्गा प्रसाद बर्माको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा जिल्लाका पदाधिकारी, समाजवादी युवा संघका जिल्ला अध्यक्ष मोहम्मद अहमद राई लगायतको उपस्थिति रहेको थियो । उपस्थित अतिथिहरुले समेत उपविजेता कुरेसीलाई खादा र मालाले सम्मान गरेका थिए ।